बुद्धशान्तिमा चुनावी सरगर्मी : कोही दौडिँदैछन्, कोही अझै साइत कुरिरहेका छन् !
स्तम्भ | पवन ढकाल
बुद्धशान्तिमा निर्वाचनको मिति घोषणा नजिकिँदै गर्दा चुनावी माहोल पनि विस्तारै तात्न थालेको छ। गाउँका चिया पसलदेखि सामाजिक सञ्जालका भित्तासम्म अबको नेतृत्व कसले गर्ने भन्ने चर्चा सुनिन थालेको छ। कोही आफूलाई भावी नेतृत्वका रूपमा उभ्याउँदैछन्, कोही अरूलाई उभ्याउन भित्रभित्रै कसरत गरिरहेका छन्। कोही उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिएका छन् भने कोही घोषणा गर्नुअघि माहोल आफ्नो पक्षमा छ कि छैन भनेर नाडी छामिरहेका छन्।
राजनीतिमा समयको महत्त्व हुन्छ। तर बुद्धशान्तिमा अहिले कसैले समयलाई पछ्याइरहेका छन्, कसैले समयभन्दा अगाडि हिँड्न खोजिरहेका छन्, अनि केही पात्र भने चुनावी घडी चलिसक्दा पनि आफ्नै घडी मिलाउँदै छन्।
आजकल उम्मेदवार बन्ने आकांक्षा राख्नुभन्दा उम्मेदवारजस्तो देखिनु सजिलो भएको छ। दुई–चार सार्वजनिक कार्यक्रममा उपस्थिति, केही फोटो, शुभकामना सन्देश, सामाजिक सञ्जालमा सक्रियता अनि समर्थकबाट आउने 'अब तपाईं नै हो' भन्ने कमेन्ट। यति भएपछि कतिपयलाई चुनाव जित्ने आधा बाटो तय भएको अनुभूति हुन सक्छ।
तर फेसबुकका प्रतिक्रियाले मतपेटिकाको परिणाम लेख्दैनन्। सामाजिक सञ्जालमा देखिने समर्थन र मतदान केन्द्रमा खस्ने मतबीचको दूरी अझै धेरै आकांक्षीले बुझ्न बाँकी छ।
उम्मेदवारी घोषणा गर्नु लोकतान्त्रिक अधिकार हो। तर घोषणासँगै आफू किन योग्य छु, बुद्धशान्तिले आफूबाट के पाउँछ र विगतमा समाजका लागि के गरेको छु भन्ने प्रश्नको जवाफ पनि आउनुपर्छ। केवल 'म पनि अध्यक्ष बन्न सक्छु' भन्ने दाबीले मतदाता कति आकर्षित हुन्छन्, त्यो हेर्न बाँकी छ।
नयाँ राजनीतिक शक्ति र सम्भावित उम्मेदवारहरू गतिविधि बढाउँदै गर्दा स्थापित दलहरूको गति भने कतै सुस्त देखिन्छ। कार्यकर्ता भेला, प्रशिक्षण, संगठन विस्तार र चुनावी तयारीमा केही दल सक्रिय देखिए पनि पुराना दलभित्र नेतृत्वको अनुहार, आन्तरिक समीकरण र उम्मेदवार छनोटको विषय अझै पेचिलो बन्ने संकेत छन्।
के पुराना दल जनताको मन बुझ्न व्यस्त छन्, कि आफ्नै दलभित्रको मन मिलाउन?
टिकटको आकांक्षा राख्नेहरू धेरै हुन सक्छन्, तर सबैलाई एउटै कुर्सीमा बसाउन सम्भव छैन। यहीँबाट सुरु हुन्छ दलभित्रको वास्तविक चुनाव—बाहिर विपक्षीसँग लड्नुअघि भित्र आफ्नै आकांक्षासँग लड्नुपर्ने चुनाव।
कतिपय दलमा उम्मेदवारको चर्चा बाहिरभन्दा भित्र बढी होला। कतिपयमा उम्मेदवार तय भइसके पनि सार्वजनिक गर्न साइत पर्खिएको होला। तर राजनीतिक मैदानमा ढिलो गरी खोलिएको पत्ताले कहिलेकाहीँ खेल नै बिगार्न सक्छ।
स्वतन्त्र उम्मेदवारहरूको बढ्दो चर्चाले पार्टीहरूलाई पनि आफ्नो मतको हिसाब फेरि गर्न बाध्य बनाउन सक्छ। स्वतन्त्र उम्मेदवार पार्टीको असन्तुष्ट मत काट्ने पात्र मात्रै हुन् कि दलहरूको परम्परागत गणितलाई चुनौती दिने शक्ति? यो अहिले नै भन्न सकिँदैन।
तर एउटा कुरा स्पष्ट छ—पार्टीको झण्डा बोकेर मैदानमा उत्रनु र जनताको विश्वास बोकेर उत्रनु एउटै कुरा होइन। दलको संगठन बलियो हुनु चुनावी फाइदा हो, तर जनताले उम्मेदवारको अनुहार अस्वीकार गरे संगठन मात्रै पर्याप्त नहुन सक्छ। त्यस्तै, व्यक्तिगत लोकप्रियताको दाबी गरेर मैदानमा उत्रिएको पात्रले पनि मतदानको दिनसम्म आफ्नो समर्थनलाई मतमा बदल्न सक्नुपर्छ।
अहिले उम्मेदवार को बन्छ भन्ने चर्चा बढ्दैछ। तर बुद्धशान्तिको आगामी नेतृत्वले के गर्छ भन्ने बहस अझै त्यति सुनिएको छैन।
सडक, शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापन, रोजगारी, पर्यटन, हात्ती–मानव द्वन्द्व, विकासको प्राथमिकता र पालिकाको सेवा प्रवाह—यी विषयमा आगामी नेतृत्वको स्पष्ट दृष्टिकोण के हुनेछ?
चुनाव जित्ने रणनीति बनाउन सबै व्यस्त होलान्। तर चुनाव जितेपछि बुद्धशान्ति बनाउने रणनीति कससँग छ?
मतदाताले यसपटक केवल अनुहार, पार्टी वा भाषण हेरेर निर्णय गर्ने कि विगतको काम, क्षमता, इमानदारी र आगामी योजनाको हिसाब पनि माग्ने? यही प्रश्नले चुनावलाई केवल प्रतिस्पर्धा होइन, नेतृत्व परीक्षण बनाउनेछ।
अहिले कसैलाई बलियो भन्न हतार हुन्छ, कसैलाई कमजोर भन्नु पनि अन्याय हुन सक्छ। चुनावी माहोलको सुरुवाती तापक्रमले अन्तिम परिणामको ग्यारेन्टी गर्दैन। आज चर्चामा रहेको पात्र भोलि ओझेलमा पर्न सक्छ, आज मौन रहेको दल भोलि बलियो समीकरणसहित मैदानमा आउन सक्छ।
तर चुनावी मैदानमा ढिलो प्रवेश गर्नेहरूका लागि एउटा चुनौती भने पक्कै हुनेछ—पहिले नै जनतामाझ पुगेका पात्रसँग प्रतिस्पर्धा गर्न केवल पार्टीको निर्णय वा टिकट पर्याप्त नहुन सक्छ।
बुद्धशान्तिमा अहिले कोही दौडिरहेका छन्, कोही दौडिन जुत्ता कस्दैछन्, कोही बाटो हेर्दैछन्, अनि कोही अझै साइत खोज्दैछन्।
तर चुनावको साइत पात्रोले देखाउला, जितको साइत जनताले लेख्नेछन्।
अब हेर्नु छ—कसले जनताको मन पढ्छ, कसले पार्टीको मन बुझ्छ, अनि कसले आफ्नै मनको इच्छा बोकेर चुनावी मैदानमा उत्रन्छ।














