देव बाँस्कोटा,धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ ।

विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदन चोकदेखि परिचय मोड सम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन ।

तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभावी नछुन उहाँको सुझाव छ ।

धनकुटा नगरपालिकाको कार्यालय, ७ नं वडा कार्यालय र विद्युत प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ ।

सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् ।

अब, विद्युत प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउनु भयाे।

सुरक्षित र हेर्दा पनि राम्रो देखिने हुनाले बजार क्षेत्रमा एबीसी केवल नै उपयुक्त देखिएको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष रोशेष श्रेष्ठले बताउनु भयाे ।

यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको हाे ।