बिर्तामोड, असोज १८। झापाको बिर्तामोड–५ मा सेवाग्राहीलाई एकै स्थानमा सहज र सुलभ मूल्यमा सम्पूर्ण घरायसी तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले ‘कन्काई बजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आज एक विशेष उद्घाटन समारोहका बीच बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोहित प्रसाई र बजारका संरक्षक जयनारायण ढकालले संयुक्त रूपमा रिबन काटेर कन्काई बजारको उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष प्रसाईले स्थानीय स्तरमा व्यवसायिक गतिविधी बढ्नुले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस किसिमका बजारले उपभोक्तालाई राहत प्रदान गर्ने बताए।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवम् बजारका संरक्षक जयनारायण ढकालले व्यवसायीहरूलाई सेवाग्राहीको सन्तुष्टिमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले बजारमा बिक्री हुने सम्पूर्ण सामग्रीको मूल्यमा एकरुपता कायम गर्न र उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सम्पूर्ण व्यापारीहरूलाई सुझाव दिनुभयो।
कन्काई बजारका म्यानेजर रोजित गुरुङका अनुसार बजारभित्र कुल १ सय १० वटा स्टलहरू सञ्चालनमा ल्याइएको छ।
यस बजारमा बालबालिका, युवा तथा वृद्धवृद्धा सबैका लागि आवश्यक पर्ने कपडा, कस्मेटिक सामान, होटल, फार्मेसीलगायतका सम्पूर्ण सामग्रीहरू एकै स्थानमा सर्वसुलभ मूल्यमा उपलब्ध छन्।
हाल बजारमा चाडपर्वलाई लक्षित गर्दै सम्पूर्ण सामानहरूमा २० देखि २५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिएको म्यानेजर गुरुङले जानकारी दिनुभयो।
कार्यक्रमका अवसरमा बजारका व्यापारीहरूले प्रतीकस्वरूप बजारका अध्यक्ष साहिद ढुंगानालाई एउटा बिरुवा हस्तान्तरण गर्दै पर्यावरण संरक्षण र सामूहिक एकताको सन्देश प्रवाह गरेका थिए।
कन्काई बजारका अध्यक्ष साहिद ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि देवी केशरी प्रसाई लगायत स्थानीय व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महेन्द्र मिश्रले गर्नुभएको थियो।
अहिले कन्काई बजार बालबालिका तथा युवायुवतीहरूको मुख्य रोजाइको केन्द्र बन्दै गएको छ, जहाँ सस्तो मूल्यमा गुणस्तरीय सामान पाइने हुँदा उपभोक्ताको आकर्षण बढ्दो छ।














