बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लब झापाले दसैँकाे अवसरमा पत्रकारहरूबीच सद्भाव बढाउने उद्देश्यले दोस्रो संस्करणको झापा मिडिया कप- २०८३ को तयारीबारे पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
शनिबार बुद्ध आदर्श माविको खेल मैदानमा पत्रकार सम्मेलन गरि खेल तयारीबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले असोज २४ र २५ गते बुधबारेस्थित आदर्श माविको खेल मैदानमा दोस्रो संस्करणको बुद्धशान्ति वडा नम्बर १ झापा मिडिया कपको आयोजना गर्ने गरिको तयारी भइरहेको बताएका छन् ।
संस्थाका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापामा रहेका पालिकास्तरका प्रेस क्लबहरुको टिम सहभागी रहने छन् । उनका अनुसार अघिल्लो संस्करणभन्दा यस संस्करणमा पुरस्कार वृद्धि गरिने बताए । पहिलो संस्करणमा प्रथम पुरस्कार नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो । त्यस्तै द्वितिय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको थियो भने बुद्धशान्ति वडा नम्बर १ मुख्य प्रायोजक रहेको थियो।
यस प्रतियोगितामा पनि बुद्धशान्ति वडा नम्बर १ मुख्य प्रायोजक रहने भएको छ ।
पत्रकार सम्मेलनमा बुद्ध शान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासङ् ताप्लेजुङ शाखाका पूर्व अध्यक्ष आनन्द गौतम, वरिष्ठ पत्रकार गणेशमान मुखिया लगायतले खेल सफलताको शुभकामना दिएका थिए ।
प्रेस क्लबको अध्यक्ष तीर्थ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण अर्यालले खेलको बारेमा प्रष्ट पारेका थिए। त्यस्तै सचिव रोशन भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ ।














