काठमाण्डाै । आज सातौँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ ।

‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ ।

दुई महानगरपालिका काठमाण्डौ र ललितपुर तथा काठमाण्डौका तीन वटा नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा सेवा विस्तार हुन बाँकी छ ।

बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।

बीमा नवीकरण गर्नेहरु ७० प्रतिशत रहेका छन् । देशभरका ४ सय ५६ स्वास्थ्य संस्थाबाट बीमाबापत प्राप्त गर्ने सेवा उपलब्ध छ ।