बिर्तामोड । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ ।

प्रत्येक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो ।

वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई नगद अभिनन्दन पत्रले सम्मान गरेको हो ।

विगत तीन दशकयता निरन्तर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लोपटक झापा भद्रपुरका घरबारविहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् ।

 जनहितमा जारी

उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जीविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् ।

निःस्वार्थ समाजसेवीका रुपमा यसअघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरेका थिए ।

उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणी पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए ।

वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गरेकी थिइन ।

सम्मान समारोहमा १ सयभन्दा बढी संघसंस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।