काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गतेको निर्वाचनमा भाग लिने उम्मेदवारमध्ये ७४ जनालाई स्पष्टीकरण सोधेको छ ।
कानुनले तोकेको समयसीमा ३५ दिनभित्र खर्च विवरण पेश नगर्ने उनीहरुलाई ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, तोकिएको समयावधि भित्र खर्चको विवरण नबुझाउने प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित जम्मा ७४ उम्मेदवारको नामावली प्रकाशन गरेर आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।














