दिलिप घिमिरे / शिवसताक्षी । कुबेरनाथ नेपालको तेहृौ पुण्य तिथिका दिन नेपाल परिवारले हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धाप स्थित जनजागृति माध्यमिक विद्यालयमा कुबेर मन छात्रवृत्ति कोष स्थापना गरेको छ ।
यस विद्यालयमा अध्ययन गर्ने अल्पसंख्यक वा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक उन्नयनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति कोष स्थापना गरिएको नेपाल परिवारले जनाएको छ ।
एक लाख रुपैयाँको चेक छोराहरू डा .देवी नेपाल र खगेन्द्रप्रसाद नेपालले प्रधानाध्यापक इन्दिरा चुडाललाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको थियो ।
वि.स.२०३२सालदेखि तीन दशकभन्दा लामो समय गोल्धापमा रहेको नेपाल परिवारका धनमाया ,गोमा र मङ्गला तीन छोरीहरूले शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपरे पनि देवी,जानुका खगेन्द्र र पवित्राले जनजागृति माविबाटै अक्षर चिन्ने र उच्चशिक्षाका लागि ढोका खोल्ने काम गर्नु भएको थियो ।
शुभकामना मन्तव्य राख्दै विशेष अतिथि नेपाल पत्रकार माहासंघका पुर्व माहासचिव चन्द्र भण्डारीले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेमा आफु आशावादी रहेको बताउनु भयो ।
हाम्रा कीर्तिशेष पिताजी कुबेरनाथ नेपाल र हामीलाई अभिभावकीय छहारी प्रदान गरिरहनुभएकी ममतामयी मनमाया नेपालका नाममा कुबेर मन छात्रवृत्ति कोष स्थापना गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत खगेन्द्रप्रसाद नेपालले बताउनु भयो । विद्यालयकी प्रधानाध्यापक चुडालले विद्यालयमा लगानी गरेर उत्साह थपिदिएको मा नेपाल परिवार लाई आभार प्रकट गर्नु भएको थियो ।
नेपाल प्रज्ञा( प्रतिष्ठान लोकवार्ता तथा बालसाहित्य विभागका निवर्तमान विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपाल र साहित्य स्रष्टा उपप्रध्यापक खगेन्द्रप्रसाद नेपाल हाल शिवसताक्षी ११निवासी हुनु हुन्छ ।
निजी निवास शिवसताक्षी ११दुधेमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा जनजागृतिका विद्यालय व्यवस्थापन अध्यक्ष ,सदस्यहरू ,पत्रकार,समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।














