चन्द्र काफ्ले , कनकाई । झापाको कनकाई नगरपालिका वडा नं १ कार्यालयले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति  पुर्याएको वडाबासीलाई आज राहत रकम प्रदान गरेको छ । 

नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हावाहुरी तथा असिना पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको ।

क्षति धेरै भए पनि वडाबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस भनेर राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।


340032003_2289623227866302_7790227826718978616_n

नगरमा भएको क्षतिको विवरण संकलन गरी राहतका लागि संघ र प्रदेशमा पठाइएको समेत उहाँले बताउनुभयो । पहिला पूरै क्षति भए पनि केही पाउने स्थित नरहेको बताउँदै उहाँले स्थानीय सरकार बनेपछि त्यो अवस्थाको अन्त्य भएको समेत सुझाउनुभयो ।

पहिलो चरणमा हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भए पनि राहत होस भनेर राहत प्रदान गरिएको वडाध्यक्ष सुशीलकुमार पोखरेलले बताउनुभयो ।

कृषिबालीमा क्षति पुगेकाहरुलाई राहतका लागि सम्बन्धित निकायहरुमा पहल भइरहेको  र नगर तथा वडागत रुपमा प्राप्त  प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


343306759_616380500151264_6920354502579622743_n

आज वडा न १ का घरमा पूर्ण क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू १० हजार, आंशिक क्षति भएका १८ परिवारलाई प्रतिपरिवार रू सात हजार ५०० र सामान्य क्षति भएका १६ जना परिवारलाई रू पाँच हजारका दरले वितरण गरिएको वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख   पिताम्बर गौतम, कृषि शाखाका प्रमुख यदुनाथ उप्रेती वडा सदस्य निर्मला खड्का, दलबहादुर थापा, संजिता घतानी ल्वागुन, कर्मचारी लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।