सिन्धुली । ‘बिहेवारी २० वर्ष पारि’ २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानुनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाले करोडौँ खर्च गरिरहेका छन् ।
यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह (बीए) उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही छन् ।
विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ का अनुसार, मरिण गाउँपालिका–७ का चार जना र वडा नं. ६ की एक जना किशोरीलाई त्यो रकम प्रदान गरिएको हो ।
अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिवार मरिण सरकारबाट एक लाख रुपैयाँ बुझ्नुभएकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताए । त्यो रकमले स्नातकोत्तर पढ्न सहयोग पुग्ने बताउने उहाँ आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा हुनुहुन्थ्यो ।
चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षामात्र पास गर्नुभएको छ । भाइले १० कक्षा उत्तीर्ण गरेर पढाइ छोडेका छन् ।
बहिनी चित्रकुमारीको साथमै रहनुभएकी मनमायाले भन्नुभयो, ‘दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ ।
गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ । पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन
। यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।’
एक लाख रुपैयँ प्राप्त गर्नुभएकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता देख्नुहुन्छ ।
सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘यो कार्यक्रमको ठूलो महत्त्व छ, अरू पालिकाले पनि सिक्छन् ।’
यता अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख रुपैयाँ दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका÷हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको धारणा छ ।
उहाँ भन्नुहुन्छ, ‘सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनुपर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनुपरेको छ । पालिकाले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ ।’
मरिणका विद्यालय तथा क्याम्पसको तथ्याङ्कलाई आधार मान्दा जति जति कक्षा पढ्दै जान्छ, विभिन्न समस्याका कारण उति उति पढाइ छोड्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।
मरिण बहुमुखी क्याम्पस प्रमुख खेमहरि बराल भन्नुहुन्छ, ‘स्नातक तहको पहिलो वर्ष ६० जना विद्यार्थी भर्ना भएका थिए, चौथो वर्षको जाँच ११ जनाले मात्रै दिएका छन् ।’
यस कार्यक्रमको प्रभावले अन्यत्र विद्यालय, क्याम्पसमा पढिरहेका विद्यार्थी आफ्नै गाउँठाउँको विद्यालय पढ्न फर्कनेछन् ।
अविवाहितलाई मात्रै प्रदान गरिने भएकाले बालविवाह न्यूनीकरण हुनेछ । बीचैमा पढाइ छोडेकाले पढ्न सुरु गर्ने छन् ।














