काठमाण्डौ  निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि अव्यवस्थित बसोबासका कारण बाग्मती करिडोरको निर्माण सकिएको छैन ।

सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्रयाक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्रयाक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।

बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै ट्रयाक खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ ।

तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किलोमिटर सडक खुल्न सकेको छैन ।

अव्यवस्थित बसोबासीको विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती ठाउँमा सडक निर्माण गर्न सकिने समितिका सूचना अधिकारी अर्यालले बताउनुभयो ।

तिलगङ्गादेखि सिनामङ्गलसम्म ५/६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने ठाउँमा रहेको छ ।

डेंगी राेगबाट बचाैं

राष्ट्रिय भूमि आयोगले समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने उहाँको भनाइ छ ।

तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्म सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्रयाक खुल्न बाँकी रहेको अर्यालले बताउनुभयो ।

शङ्खपार्क क्षेत्रमा काठमाण्डौतर्फ ट्रयाक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ ।

थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म समस्या पर्ने उहाँको भनाइ छ । समितिको कार्यक्षेत्र बागद्वारदेखि कटुवाल दहसम्म ४४ किलोमिटर हो ।

सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।

काठमाण्डौका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो ।

समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताउनुभयो ।