झापा । झापामा पनि ठुलो संख्यामा अनुचित लेनदेन मिटराब्याज पिडितको सम्स्या देखा परेको पाइएको छ । जसमध्ये यहि वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि एकसय भन्दा बढि उजुरीहरु जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको हो ।
जिल्ला भरिका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट बढी उजुरीहरु परेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनु भयो । उहाँले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको मिटरब्याज पिडित सहायता कक्षमा निवेदन दर्ता भएको पनि जानकारी दिनुभयो ।
त्यसैगरि तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको न्यौपानेले बताउनु भयो । निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन् । मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझ ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेको, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएको लगायतका गुनासोहरु पिडित पक्षको रहेका छन् ।
पछिल्लो समय देशभरि नै मिटरब्याजीको समस्याहरु देखापर्न थालेका छन् । कारोबारमा कमि कम्जोरी साहुको हो की आम नागरिकको भन्ने विषयमा सरकार गम्भिर हुन जरुरी छ ।














