इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी (नगद, सुन र चाँदी) हिनामिना भएको विषयमा पालिका र जिल्ला प्रशासन कार्यालयबीच विवाद उत्पन्न भएको छ ।
रोङ गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर पाथीभरा संरक्षण संस्थामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय इलामलाई आग्रह गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले रोङ गाउँपालिकालाई स–प्रमाण जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गरेपछि विवाद शुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई पत्र काटेपछि पालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासले स्थानीय सरकारलाई सप्रमाण उपस्थित हुन निर्देशनात्मक पत्राचार गर्ने जिल्ला प्रशासनलाई अधिकार छैन भन्दै आफ्नो क्षेत्राधिकारमा रहेर कार्य गर्न सुझाव दिएका छन् ।
उनले समन्वयात्मक छलफलको लागि आग्रह, निमन्त्रणा गर्न सकिन्छ तर अपारदर्शीताको सवाल राखेर निर्णयसहित अनुसन्धान गर्न गरेको आग्रह पत्रको जवाफमा प्रशासनले पालिकालाई प्रमाणसहित उपस्थित हुन पत्र पठाउनुले प्रशासन नै मन्दिरको रकम हिनामिना गर्ने संस्थालाई संरक्षण गर्न लागेको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालयलाई पालिका अध्यक्ष स्याङ्वोले जिल्ला प्रशासनले छ वर्षदेखिको नवीकरण नभएको संस्थालाई किन दायरामा नल्याएर स्थानीय सरकारको समानान्तर हैसियतमा जिल्लामा छलफल गराउने जोश आयो ? जिल्ला प्रशासनमा दर्ता रहेको संस्था नियम अनुसार चलेको छैन भन्दा र प्रमाण हुँदा किन केही नगर्ने ? उल्टै स्थानीय सरकारले नियुक्ति गरेको स्वतन्त्र लेखा परीक्षकको विश्वास छैन भन्ने अधिकार कसले दियो ? यो सानो कुरा हो भन्ने छुट प्रजिअलाई कसले दियो ? रोङ गाउँपालिकाले हिजो शुरु गरेर आज परिणाम खोजेको हो र ? जिप्रकामा चिठ्ठीको थाक हेर्नुहोस् कहिले देखिको हो ? त्यो चिठ्ठी उपर किन कारबाही भएन ? गैरसरकारी संस्थाले सरकारलाई चुनौती दिँदा जिम्मेवार निकायले उसैलाई साथ दिनु किन ? संघ–संस्था ऐन २०३४को दफा ७, ८, ९, १०, ११ मा भएको व्यवस्था कार्यान्वयनमा किन जोड दिएन ? सोही ऐनको दफा १२ किन आकर्षित नहुने भनी असोजमा लेखिएको पत्रको कारबाही किन अघि बढेन ? जस्ता प्रश्न राखेका छन् ।
उनले रोङ गाउँपालिका जिल्ला प्रशासनको मातहतको कार्यालय होइन हेक्का रहोस् भन्दै जिल्ला प्रशासनको भूमिका प्रति प्रश्न उब्जिएको बताए ।
जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संस्थाले ०७३पछि नवीकरण पनि नगरेको र साधारणसभा पनि गरेको छैन ।
त्यो ०७४ यता सङ्कलन भएको भेटीको पनि हिसाब सार्वजनिक नगरेको र उसले गरेको काम पनि पारदर्शी नभएको भन्दै रोङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई अनुसन्धान अघि बढाउन आग्रह गर्दै पत्र लेखेको थियो ।
उक्त पत्रको जवाफमा पालिकालाई स–प्रमाण जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्राचार गरेपछि समस्या समाधान भन्दा पनि विवादले चर्को रूप लिन खोजेको पाइन्छ ।
यता प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गाउँपालिकाले पठाएको लेखा परीक्षकलाई पाथीभरा संरक्षण संस्थाले स्वीकार नगरेको अवस्थामा छलफलमा बोलाइएको बताए ।
पाथीभरा संरक्षण संस्था पारदर्शी नभएपछि रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन–२०७९ जारी गरेर पाथीभरा विकास समितिमार्फत व्यवस्थापनको काम थालेको छ ।
समितिले फागुन १ गतेबाट पाथीभरा मन्दिरको जिम्मा लिएसँगै एक सय आठ दिनमा ७३ लाख एक हजार ५४ रुपैयाँ संकलन गरेको छ ।
तर पाथीभराको पुरानो समितिले पछिल्लो १९ महिनाको आय ४७ लाख ७१ हजार दुई सय ३९ रुपैयाँ मात्रै आम्दानी देखाएको हो ।














