झापा, बर्ने चिया बगानकाे मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक’ बनाउनेको भिड उर्लिएको छ । 

झापा र इलामको सिमाना नजिक पर्ने त्यो ठाउँ बुद्धशान्ति गाउँपालिका–४ मा पर्छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने धेरैजसो यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् । 

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका बिरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो ।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस त्यस ठाउँमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् ।

‘शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु,’ बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्नुहुन्छ, ‘पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।’ अरुभन्दा शनिवार भिड उर्लिने गरेको उहाँले बताउनुभयो ।

एक हप्ताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्कनुभएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनुभएकी उहाँले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताउनुभयो ।

डेंगी राेगबाट बचाैं

‘चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन,’ उहाँले भन्नुभयो, ‘वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू । साह्रै राम्रो ठाउँ रहेछ ।’

उहाँले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताउनुभयो । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उहाँले यति धेरै मानिसको भिड लागे पनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाउनुभयो । 

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताउनुभयो । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उहाँले बताउनुभयो ।

‘फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ,’ उहाँले भन्नुभयो । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहनु भएको भेटियो । ‘छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ,’ इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उहाँले बताउनुभयो ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताउनुभयो । चन्द्रगढीको वीरेन्द्र नमुना क्याम्पसको शिक्षा सङ्कायको स्नातक  प्रथम वर्षमा अध्ययनरत उहाँले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताउनुभयो ।

झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउनुहुन्छ । ‘यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो,’ उहाँ भन्नुहुन्छ, ‘फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।’ सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्बिर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उहाँको ठम्याइ छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन ।