पाँचथर । देव बाँस्कोटा । पूर्वी नेपालको विभिन्न जिल्लाका गाई र भैंसीमा फैलिएको लम्पी स्किन भाइरस रोग पाँचथरको हिलिहाङ गाँउपालिकामा पनि फेला परेको छ ।

सुरुआती दिनमा गाई, गोरुहरुमा देखिन थालेको यो रोग पछिल्लो समय बाच्छा बाच्छीमा पनि देखिएको पशु सेवा विभाग हिलिहाङ गाँउपालिकाले जनाएको छ ।
मनसुनका कारण अहिले प्रायः गाई गोरु गोठमा छन, बर्खाको समयपछि गाईलाई गोठ बाहिर निकालेपछि यो रोगको सङ्क्रमण अझ बढ्नसक्ने पशुरोग चिकित्सकहरूको भनाइ छ ।

हिलिहाङ गाउँपालिका वडा नं ४ का भुमि बाँस्कोटाको घरमा पालेको गाईको शरीरभरि घाउ थिए । केही घाउ फुटेर तरल पदार्थ बगिरहेको थियो भने गाईलाई उठ्न र बस्न समेत गाह्रो भएको देखिन्थ्यो । केही दिनदेखि गाईले दुध पनि कम दिन थालेको उँहाले बताउनुभयो ।
स्थानीय पशु प्राविधिकसँग सम्पर्क राखेर ज्वरो नियन्त्रण गर्ने केही औषधि गाई तथा गोरुलाई खुवाए पनि सञ्चो भएको सङ्केत नदेखिएको उँहाले बताउनुभयो ।
उँहाका छिमेकी ओमनाथ बाँस्कोटा, हरिप्रसाद आचार्य, नारद चम्लागाई लगायत अन्य थुप्रै घरका गाई तथा गोरुको खुट्टा सुन्निएको छ र गाईले दुध कम दिन थालेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।

बाँस्कोटाले भन्नु भयो केही दिन अघिसम्म त गाउँका एक दुई वटा गाईमा यो रोग देखिएको थियो । अहिले त गाउँभरि यस रोगले बिकाराल रुप लिएको बताउनुभयो । बर्खामासको समय चलिरहेको छ, गोरु विरामी भएर थला पर्दा धेरै नै ठूलो घाटा भएको उहाँ बताउनुहुन्छ ।
गाउँनै भरि लम्पी स्किन भाइरस रोग लागेर वस्तुहरु थला परिरहेको बेला स्थानीय सरकारले पुर्ण चासो दिनुपर्ने कुरालाई स्थानीयहरुले ध्यानाकर्षण गराउन चाहेका छन ।
स्थानीय हरिप्रसादको गोरु दुइ महिना अगाडीदेखी बिरामी छ, यस्तै ताल हो भने यो बर्ष खेतबारी बाँझै रहने कुरामा दुई मत नरहने उहाँ बताउनुहुन्छ ।

स्थानीय सरकारले लम्पी स्किन भाइरस नियन्त्रण गर्न स्वास्थ्य उपचारमा विशेष सहयोग गर्न स्थानीयवासीहरुले अपिल गरेका छन ।
मानो रोपी मुरी उब्जाउने बेलामा यसरी घरका चौपाया धमाधम विराम पर्न थालेपछी कृषक मारमा परेका छन् ।














