काठमाण्डाै  'लम्पी स्किन' रोगको महामारीमा क्षति भएका पशुचौपायहरूको उचित क्षतिपूर्तिसहित सरकारसँग छ बुँदे माग राख्दै आएका पीडित किसानहरूले धर्ना दिन थालेका छन् ।

आज मङ्गलवार ललितपुरको हरिहर भवनमा रहेको पशु सेवा विभाग परिसरमा पुगेर उनीहरूले आफूहरूको माग सम्बोधन गर्न दबाबस्वरूप धर्ना दिएका हुन् ।

लम्पी स्किन रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानहरूलाई राहतको व्यवस्था गर्न माग गर्दै आन्दोलनको कार्यक्रम सुरु गर्नुपरेको अखिल नेपाल किसान महासङ्घकी उपमहासचिव सरिता भुसालले बताउनुभयो ।

pic_6_ju5xYddsbh

उहाँले पशुपालक किसानहरूले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताउनुभयो । पीडित किसानहरूले बीमाको भुक्तानी गर्न ढिलाइ गर्न नहुने पनि बताएका छन् ।

लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरूको पुनःस्थापना र उनीहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासङ्घ काठमाण्डाैका इन्चार्ज पुस्कर प्याकुरेलले बताउनुभयो ।

नेपाल पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ । नेपालमा मनाङबाहेक ७६ वटा जिल्लामा लम्पी स्किनको प्रकोप फैलिएको छ ।

pic_4_1USbWn7eDd

परिषद्ले समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा झन्डै २५ लाख २६ हजार पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनुमान गरेको छ । यसबाट झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान छ ।

यो रकम नेपालको आउँदो आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको सात प्रतिशतभन्दा धेरै हुने परिषद्ले उल्लेख गरेको छ ।

ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन् ।

तर सरकारले महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिनसकेको अवस्थामा पशुबीमा गराएका किसानहरूले त्यहीँबाट रकम पाउने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनुभयो ।