काठमाडौं   सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै दर्जनभन्दा बढी व्यक्ति ठगी गरेको र ठगी गरेको सामान किनेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ एकान्तकुनाका ३० वर्षीय सम्राट, समीर, रागब नामले चिनिने राजु परियार र काठमाडौंको कलंकी सुनारगाउँका ३६ वर्षीय ब्रह्मा रिसाल छन्। 

ठगीका मुख्य व्यक्ति सम्राट हुन् भने उनले ठगी गरेको औंठी खरिद गरेको आरोपमा ब्रह्मा पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सम्राटलाई लुभु र ब्रह्मालाई कालिमाटीबाट पक्राउ गरेको हो।

मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, विशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढामगर समेतका दर्जनभन्दा बढी व्यक्तिहरूलाई उनीहरुले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै लाइसेन्स बनाइदिने भन्दै रकम लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

सम्राटले लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरू गरी दिन्छु भनी विश्वास दिलाई पीडितहरूबाट नगद तथा सुनको गहना (औंठी) समेत जबरजस्ती लिई ठगी गरेको पाइएको छ।