विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो ।

आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ ।

364177584_802543608317751_7178943518066344665_n 1

नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिनुभयो । 

  फेसन शो का लागि २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू छनौट गरिएको छ । तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरु ¥याम्पमा उत्रनेछन् ।

रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ ।

कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै, रोमन कटेलको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, रबिन कटेलको संयोजकत्वमा प्रचारप्रसार समिति, यसु बरालको संयोजकत्वमा अतिथि सत्कार समिति र राजिव रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए ।

भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दावी गरिएको छ ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो इन्स्टिच्यूटले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।