काठमाडौँ, । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।

सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ।

साविकको उच्च माध्यमिक विद्यालय  कक्षा ११ १२ को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ।

सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। “विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हुने छ,” मन्त्रालय स्रोतले भन्यो, “सबै पदमा खुला प्रतिस्पर्धा नभई खुला र आन्तरिकका लागि निश्चित प्रतिशत छुट्याइएको छ। सबै आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति सम्भव हुँदैन।

 जनहितमा जारी

अध्यापन अनुमतिपत्र लिएर बसेका हजारौँ जनशक्तिले पनि अवसर पाउनु पर्छ। कार्यरत धेरैलाई प्रवेश गराउन पहिले आन्तरिक र पछि खुला प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन गर्नु पर्छ।

आन्तरिकलाई उमेरको हदबन्दी पनि हुने छैन।”