तेह्रथुम । तेह्रथुममा लालीगुराँस संरक्षण गर्न वृक्षरोपण सुरु गरिएको छ । गुराँसको राजधानीका रुपमा परिचित तिनजुरे, मिल्के जलजले क्षेत्रमा गुराँस संरक्षणका लागि ठोस पहल नभएका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकामा राष्ट्रिय फूल लालीगुराँस संरक्षण थालिएको हो ।
लालीगुराँस मासिँदै जान थालेपछि यसको संरक्षण गर्न नगरबासीहरु जुटेका हुन् । बोटविरुवाले पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने भन्दै म्याङलुङ नगरपालिका–६ का वडाबासीहरु वृक्षरोपणमा जुटेका हुन् ।
वडाले वृक्षरोपण गरेर यसको संरक्षण गर्न बिशेष योजना बनाएको वडाअध्यक्ष मिनप्रसाद लिम्बुले बताउनुभयो ।
म्याङलुङ बजारदेखि पिंगुवा खोलासम्म १० किलोमिटर दूरीको सडकको दायाबाँया लालीगुराँसको विरुवा रोप्ने काम साप्ताहिक रुपमा भइरहेको छ ।
राष्ट्रिय गौरवसँग जाडिएको मध्यपहाडी लोकमार्गको दाँयाबायाँ राष्ट्रिय फुल लालीगुराँस ढकमक फुलाउने र पर्यटन प्रर्वद्धन हुनेमा आफुहरु ढुक्क रहेको वृक्षरोपण अभियानका संयोजक मित्र नेपालीले बताउनुभयो । यस क्षेत्रमा गुराँससहति विभिन्न प्रजातीका एक हजार भन्दा बढी बिरुवा रोपिएका छन् ।














