हरिता दाहाल । बिर्तामोड,  सुत्केरीको उपचारमा लापरवाहीको विषयलाई लिएर बिर्तामोडस्थित मनमोहन अस्पतालमा चलेको विवाद साम्य भएको छ ।  पीडित पक्षलाई राहत उपलब्ध गराउने सहमतिपछि विवाद समाधान भएको हो ।

साउन २७ गते प्रसुति गराउन मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्र्षीया सिर्जना संग्रौलाको बिर्तासिटी अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

 वरिष्ठ प्रसुति रोग विशेषज्ञ एकराज गौतमले सिर्जनाको शल्यक्रिया गर्नुभएको थियो ।


 सुत्केरीको स्वास्थ्यमा समस्या आएको भए पनि पीडित परिवारलाई कुनै जानकारी नदिइएको जनाइएको छ । व्लड प्रेस बढेर नशा फुटेपछि मनमोहनले बिर्तासिटी अस्पताल पठाएको थियो । 

 अस्पताल प्रशासनले पीडित पक्षलाई राहत दिने सहमति गरेको छ ।

पीडित परिवारलाई २० लाख रुपैयाँ  दिने, नवजात शिशुको शैक्षिक संरक्षकत्वसहित १२ कक्षासम्म राम्रो निजी विद्यालयमा पढाई दिने र शिशुको सबै उपचार खर्च अस्पतालले व्यहोर्ने सहमति भएको छलफलमा सहभागी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताउनु भयो । 

चिकित्सकको लापरवाहीका विषयमा आवश्यक तथ्य जाँचका लागि मेडिकल काउन्सिललाई आग्रह गर्ने सहमति भएको छ ।