बिर्तामोड। सुत्केरी ‘सिकिस्त’ प्रकरणमा झापा बिर्तामोडको मनमोहन अस्पताल पीडित परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमत भएको छ । सोमवारदेखि श्रृङ्खलावद्ध भएका वार्ता र छलफलपछि अन्तत पीडित परिवारलाई ३५ लाख रुपैयाँ दिने सहमति भएको हो ।

प्रसुतिका लागि भर्ना भएकी आफ्नै अस्पतालकी स्टाफ झापा बिर्तामोड-१ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको उपचारमा लापरवाही गरेको जनाउँदै पीडित परिवारले अस्पताल प्रशासनविरुद्ध आन्दोलन सुरु गरेको थियो ।

तर, मंगलवार बिहान पीडित पक्ष लिखित सहमति गर्न नआएपछि अनेकथरि समाचार सार्वजनिक भएका थिए । मंगलवार अपरान्ह सकिएको वार्ता र छलफलमा अस्पतालले पीडित परिवारलाई ३५ लाख रुपैयाँ दिने सहमति गरेको सुत्केरी सिर्जना संग्रौलाका काका हेमराज संग्रौलाले जानकारी दिए ।

सिर्जना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख रुपैयाँ राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख रुपैयाँ दिने सहमति भएको उनले बताए ।

प्रसुतिका लागि भर्ना भएकी सिर्जनाको शल्यक्रिया सफल भएको थियो । तर, प्रेसर बढेर नशा फुटेपछि मस्तिष्कमा रगत जमेको हुनसक्ने आशंकामा मनमोहन अस्पतालले उनलाई बिर्तासिटी अस्पताल पठायो ।

परिवारका अनुसार उनको बिर्तासिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । तर, परिवारका सदस्य र आफन्तले भिडियो र सामाजिक सञ्जालमार्फत सोमवार नै सिर्जनाको मृत्युको खबर सार्वजनिक गरेका थिए । जुन भिडियोहरुमा उनीहरुले बोलेको प्रष्ट सुन्न सकिन्छ । आफन्तका फेसबुक पोस्टहरु पनि सामाजिक सञ्जालमा छन् ।

अस्पताल प्रशासनले मंगलवार क्षतिपूर्तिवापत १० लाख रुपैयाँको चेक दिएको छ । बाँकी रकम असोजभित्र दुई किस्तामा दिने सहमति भएको छ । सोमवार भएको सहमतिलाई निरन्तरता दिँदै प्याकेजमा थप सहमति गरिएको वार्तामा सहभागी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।