उपभोक्ता अधिकारकर्मी ज्योति बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा धूम्रमान र मद्यपानको सेवन न्यूनीकरणमा अथक प्रयास गर्दै नसर्ने रोगको रोकथाममा उल्लेखनीय योगदान गरेको मूल्यांकन गर्दै संयुक्त राष्ट्रसंघले मञ्चलाई यो अवार्ड प्रदान गरेको जनाएको छ ।


यो अवार्डको घोषणा संयुक्त राष्ट्रसंघको सभाले मंगलबार राति गरेको हो ।

यो अवार्ड नेपालले पहिलो पटक पाएको हो । राष्ट्रसंघले नसर्ने रोग र मानसिक स्वास्थ्यमा उल्लेख्य भूमिका निभाएकोमा सरकारी तर्फ निकारागुवा, लेबनान, ओमन र कोस्टारिकाको स्वास्थ्य मन्त्रालयलाई पनि अवार्ड प्रदान गरेको छ भने गैरसरकारी संस्थाहरूमध्ये अमेरिकाको हेल्थ फाइनान्सिङ इन्स्टिच्युट, चेक रिपब्लिकको लूनो र नेपालको उपभोक्ता हित संरक्षण मञ्च रहेका छन् ।

महासभाको अवार्ड घोषणा समारोहमा मञ्चका अध्यक्ष बानिया भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

बानियाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन पनि गरेका थिए ।

२९ वर्षदेखि निरन्तर मञ्चले जनस्वास्थ्य अधिकार सहित उपभोक्ता अधिकारका क्षेत्रमा गरिरहेको कामको कुनै न कुनै रूपमा मूल्यांकन भएको भन्दै मञ्चका अध्यक्ष बानियाले खुसी व्यक्त गर्दै यो अवार्डले मञ्चलाई अझै गहन जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।