झापा । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काईएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको हो । कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिनु भयो ।

सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा विल्डिङ्ग निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते शिवालय आर।एस जेभी योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनी शिवालय आर।एस जेभीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३ का वडासदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।