बिर्तामोड, असोज १७ । मोरङ  जहदाकी मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टिमले १९ औँ एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको छ ।

चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको हो । एसियाली खेलकुदको डेब्यु प्रतियोगितामै महिला कबड्डीले पदक पक्का गरेको हो ।
बुधबार महिला कबड्डीको समूह ‘बि’ मा इरानले बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालले कास्य जितेको हो । पहिलो हाफमा इरान २८–५ ले अगाडि थियो ।

यस समूहमा लिग चरणका सबै खेल सम्पन्न भएका छन् । लगातार दुई खेल जितेको इरान र एक खेल जितेको नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इरानले नेपाल र बंगलादेशलाई हराएको थियो । बंगलादेश दुवै टोलीसँग पराजित हुँदै पदकविहीन रह्यो । नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।