काठमाडौं । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 


विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।

“कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।”

ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन्। गत जुन ८ मा एक्स (ट्वीटर)मा एक पोस्ट लेख्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गरेकी थिइन् ।