काठमाडौं । सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।
बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ ।
जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् ।
जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
बँदेललाई धपाउने वा लखेट्ने क्रममा मृत्यु भएमा सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडागरी गाड्न वा तौलका आधारमा मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गर्न सकिने उल्लेख छ ।














