हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् ।

इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेदेखि हत्या प्रयाससम्मका विभिन्न आरोप लागेको थियो ।

प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन पहिलो चरणमा हिजो २४ जना बन्धकलाई रिहा गरेको छ । गाजाबाट रिहा हुनेमा १३ जना इजरायली र अरु थाइ नागरिक रहेका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका तथा थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ ।

उनीहरु रफाह सीमा नाका हुँदै इजिप्ट पुगेका बीबीसीले जनाएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार लडाइँ पनि चार दिनका लागि रोकिएको छ ।

इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा ५० बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो ।

अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाइएकाे थियाे । 

त्यसलगत्तै इजरायलले गरेको आक्रमणमा १४ हजार जनाभन्दा धेरै मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।