अर्जुनधारा । सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प शनिश्चरेले अवैध माछा नियन्त्रण गरि नष्ट गरेको छ । विना चेकजाँच भारतबाट माछा ल्याउदै गरेको अवस्थामा आज शुक्रबार बिहान १० बजे सुरक्षा बेस क्याम्प शनिश्चरेबाट खटिएको प्रहरी टोलिले कनकाई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बजार नजिकैबाट १ सय २० केजी अवैध माछा नियन्त्रणमा लिएको हो ।
बजार मुल्य अनुसार करिब ४८ हजार रुपैयाँ बराबरको जलकपुर र पंगास जातका माछा नियन्त्रणमा लिएको बेस क्याम्प शनिश्चरेले जनाएको छ । माछा ओसार्न प्रयोग गरिएको मे १० प ८२८८ नम्बरको एक थान मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेस क्याम्पका प्रहरी निरिक्षक सर्वजित थापा, स्थानीय जनप्रतिनिधि अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुमार प्रसाद उप्रेती, वडासदस्य शरु बुढाथोकी, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय नागरिक र पत्रकारको रोहोवरमा खाल्डो खनी पक्राउ परेको उक्त परिमाणको माछा नस्ट गरिएको थियो ।
सीमा नाका क्षेत्रबाट अवैध रुपमा भैरहेको माछाको कारोबारमा सशस्त्र प्रहरीले पछिल्लो समय कडा निगरानी बढाएको छ ।














