काठमाडौँ। पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं ।
आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताए ।
उनले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भने– ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।
केन्द्रले तयार गरेको विवरणमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।
केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।
कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ ।
केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ ।
त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ ।
परिपत्रअनुसार दरबन्दी आएपछि केन्द्रले अन्तिम विवरण आयोगलाई पठाउने छ । सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।














