काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल बिच भेटवार्ता भएको छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन संयुक्त अरब ईमिरेट्स (यूएई) जानु अगाडि प्रधानमन्त्री प्रचण्डले बुधबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।
भेटको क्रममा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म यूएईको दुबईमा हुँदैछ । प्रधानमन्त्री डिसेम्बर १–२ मा हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा उनले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।














