सुर्खेत ।  जाजरकोट भूकम्पले त्रिपालमुनि रहेका भूकम्प प्रभावित नागरिक त्रिपालमुक्त कहिले हुन्छन् भन्न सकिने अवस्था छैन ।   मङ्सिरभित्रै नागरिकलाई त्रिपालमुक्त गरिसक्ने लक्ष्य राखिए पनि पीडितसामु पुग्दा सोअनुसार काम भएको देखिँदैन ।

कात्तिक २६ गते नै स्वीकृत कार्यविधिअनुसार केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्नका लागि ५० हजार रकम दिने र त्यसका लागि मापदण्ड तोक्ने काम भयो । तर कानुनी प्रक्रिया लामो भयो । त्यसले गर्दा अहिलेसम्म सम्पूर्ण भूकम्प प्रभावितहरूको लगत सङ्कलन नै हुन सकेको छैन । त्यस्तै तोकिएको मापदण्ड अनुसारका अस्थायी आवास पनि निर्माण हुन सकेका छैनन् । सरकारबाट आउने अनुदान नपाउँदा विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले छानोबिनाका अस्थायी आवास निर्माण गरेका छन् । नलगाड नगरपालिका–१, कलपटकी ३० वर्षीय सन्दीपा पुनको घर भूकम्पले चिराचिरा बनाएपछि बस्न मिल्ने अवस्था छैन । मिर्गौलाकी बिरामीसमेत रहेकी उनीसहित तीन जनाको परिवार त्रिपालमा बस्दै आएको एक महिना भयो । चिसोले गर्दा अप्रेसन गरेको उनको घाउ दुख्ने लगायतका समस्या देखा पर्न थालेका छन् । नेकपा माओवादी केन्द्र सुर्खेत जिल्लाको टोलीले उनका लागि अस्थायी टहरा त निर्माण गरिदयो तर अपुरो छ ।