काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सक तथा केएमसीका सुरक्षाकर्मीहरुबीच झडप भएको छ ।

अस्पतालको हाता बाहिर आवासीय चिकित्सक तथा अस्पतालका सुरक्षाकर्मीबीच झडप भएको हो । झडपपछि आन्दोलनरत चिकित्सक अस्पताल बाहिर निस्किएर नाराबाजी गरिरहेका छन् ।

निलम्बन गरिएका आवासीय चिकित्सक डा.विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै चिकित्सकहरुले गेटबाहिर प्रदर्शन गरेका थिए ।

त्यस क्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको दावी आन्दोलनरत चिकित्सकहरुको छ ।

आन्दोलनरत चिकित्सकहरुले अस्पतालका सुरक्षाकर्मीहरुले चिकित्सकहरुमाथि बल प्रयोग गर्न खोज्दा झडप भएको बताउँदै त्यसक्रममा केही चिकित्सकहरु घाइतेसमेत भएका छन् ।

अस्पताल प्रशासनले एमडी गरिरहेका डा.दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै गत पुस १२ गतेदेखि एक महिनाका लागि निलम्बनको पत्र दिएको थियो ।
यद्यपि, काठमाडौं विश्वविद्यालय केयूले भने चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो ।

तर, केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले डा.दाहाललाई केयू नै फिर्ता पठाउने भन्दै अस्पताल हाता भित्र प्रवेश गर्न नदिने बताउँदै आएका छन् ।

डा.दाहालको निलम्बनको विरोधमा पोस्ट ग्राजुएट तह पहिलो तथा दोस्रो वर्षका ८० भन्दा बढी आवासीय चिकित्सक आन्दोलित छन् ।