काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् ।

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रूसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

‘हामीले रूसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ उनले भने त्यस कारण रूसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेको बताएका छन् ।

जवाफमा रूसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए । रूसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।