बिर्तामोड । भरत भाबुक प्रसाई, मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ ।
आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको हो ।
बिर्तामोड स्थित बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष बस्नेतले झापा गोल्डकप र भद्रपुर गोल्डकप १/१ बर्ष पछि सञ्चालन गरिने जानकारी दिनुभयो ।
व्यवसाय धरासायी भएको बेला र आर्थिक मन्दीले बजार ठप्प भएको बेला व्यवसायीहरुले दुवै प्रतियोगितालाई सहयोग गर्न नसक्ने भएकाले नियमित रुपमा प्रत्येक बर्ष झापा गोल्डकप सञ्चालन नगरिएको उहाँको भनाइ छ ।
यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन ।
यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो ।














