काठमाण्डौ – आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी र थ्रि स्टार क्लब खेल्दैछन् । फाइनल खेल पोखरा रङ्गशालामा दिउँसो एक बजे शुरु हुनेछ । आर्मी यसअघि चार पटक फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन । आज जुन टोलीले जिते पनि इतिहास बन्नेछ । आर्मीलाई उपाधि जितेर इतिहास रच्ने अवसर छ । 

त्यस्तै थ्रि स्टार च्याम्पियन बनेमा उसले छैटौँ पटकको जितसहित इतिहास रच्नेछ । उसले यसअघि सर्वाधिक समान ६ पटक उपाधि जित्ने नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी गर्नेछ । आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो ।

थ्रि स्टारले उद्घाटन खेलमा आयोजक सहारालाई हरायो, क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख एक हजार र उपविजेता टोलीले छ लाख एक हजार नगद पुरस्कार ट्रफि पाउनेछ ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार दिइने आयोजक सहारा क्लब पोखराले जनाएको छ । २३औँ संस्करणको प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।