काठमाण्डाै ।  निर्यात व्यवसायीहरूले देशको व्यापार घाटा घटाउन पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आए पनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको आरोप लगाउनुभयो ।

अब व्यापार घाटा घटाउनका लागि पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताउनुभयो ।

निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरूले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेकाे उहाँकाे भनाइ छ ।

देशभर झन्डै ११ लाख जनाले हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् ।