काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढेको बताएको छ ।

आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा आयोगका अध्यक्ष प्रेमकुमार राईले सङ्घीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनका उजुरी बढेको बताउनुभएको हो ।

उहाँले देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो व्याप्त रहेको पनि उल्लेख गर्नुभयो ।

राईले सङ्घीयता कार्यान्वयनपछि अहिलेसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता काममा सार्वजनिक सम्पत्तिको हानी/नोक्सानी गर्ने, घुस र रिसवत लेनदेन गर्ने, गैरकानुनी लाभ लिने, बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी उल्लेख्य सङ्ख्यामा आयोगमा पर्ने गरेको बताउनुभयो ।

उहाँले सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, विना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्वसम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यताको पहिचान नगरि बजेट विनियोजन गर्ने खरिद योजनाविना नै खरिद गर्ने प्रवृत्ति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सङ्घीयता कार्यान्वयनपछि  अहिलेसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता काममा सार्वजनिक सम्पत्तिकाे हानी/नाेक्सानी गर्ने, घुस र रिसवत लेनदेन गर्ने, गैरकानुनी लाभ लिने, बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी आयोगमा पर्ने गरेका छन् ।

कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपक्षीलगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने क्रम बढेकाे छ ।

नियम, कानुन, कार्यविधि, मापदण्ड र नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलिया प्रवेश गराई मिलेमतोमा अनियमितता गर्ने, तोकिएको काम समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरि थन्काएर राख्ने जस्ता प्रवृत्ति देखिएका छन् ।

अध्यक्ष राईले भ्रष्टाचारविरुद्धकाे लडाइँ आयोग एक्लैको नभएकाे भन्दै सामूहिक प्रयासको खाँचो रहेकाे पनि बताउनुभयाे ।