तीनै तहका सरकारमा सार्वजनिक बिदा दिने विषयमा बेथिति बढ्दै गएको छ । बेला बेला सङ्घीय सरकारले नै नचाहिने विषय र निहुँमा बिदा दिएको भन्दै आलोचना हुने गरेको छ ।

तर पालिकामा त सार्वजनिक बिदामा ठूलै मनोमानी भइरहेको छ । स्थानीय पर्व, उत्सव र सांस्कृतिक तथा ऐतिहासिक विषयमा दिइनुपर्ने बिदाहरु अहिले भने साह्रै सस्तो र आलोचित हुन थालेका छन् ।

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पालिकाले सार्वजनिक बिदा दिन पाउने व्यवस्था छैन । तर बिदा दिन नपाइने भनेको पनि छैन ।

त्यसैले त पालिकाहरुलाई हाइसञ्चो छ, चाहिने/नचाहिने विषयमा बिदा दिने अनि सरकारी कामकाज ठप्प । पालिकाहरुको बिदामा मनपरीबारे केही उदाहरण हेरौँ है त ।

आजकै कुरा गरौँ, सर्वोच्च अदालतले जनयुद्ध दिवसको दिन बिदा नदिन आदेश दिएको छ, तर आज कैयौँ पालिकाले बिदा दिएका छन् । माओवादीका अध्यक्ष रहेका र जनप्रतिनिधिको बाहुल्यता रहेका केही पालिकामा बिदा छ ।

गएको माघको ८ गते भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भयो, नेपालका १० वटा भन्दा धेरै वटा पालिकाले पनि बिदा दिए ।

डेंगी राेगबाट बचाैं

उत्सव भारतमा, बिदा नेपालमा । स्थानीय चाडबाड र जातजातिका पर्वमा पालिकाले एक दिन बिदा दिनु सामान्य नै हो तर क्रिसमस उत्सव भन्दै मकवानपुरको राक्सिराङ गाउँपालिकाले त तीन दिन बिदा दिएको थियो । चाडबाडका नाममा दिइने बिदाको सङ्ख्या निकै बढेका छन् ।

गएको साउनदेखि पुससम्म सुदूरपश्चिम प्रदेशका केही पालिकामा २९ वटासम्म पर्व बिदा  दिइयो ।

ल, चाडबाडमा बिदा दिनुलाई सामान्य नै मानिएला, तर जेलमा रहेका मेयर छुट्दा समेत पालिकाले उत्सव मनाउँदै बिदा दिएको उदाहरण छ । रौतहटको कटहरीया नगरपालिकाका मेयर शियाराम कुशवाहलाई विश्व हिन्दु महासङ्घका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

तर सर्वोच्च अदालतले सफाइ दिएपछि मेयर हेलिकप्टरमा उडेर गाउँ पुगे, मेयर निर्दोष साबित भएको खुसियालीमा २०७५ सालको पुस १५ गते आइतवार पालिकाभर कामकाज ठप्प पारेर बिदा भयो ।

गणतान्त्रिक देशमा राजाको छाेराको विवाह भन्दै बिदा दिने पालिका पनि छ । गएको असार १८ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव भन्दै बिदा दियो ।

विवाह मात्रै होइन, पालिकाका जनप्रतिनिधिको आफन्तको मृत्युमा शोक बिदा दिएका उदाहरण त थुप्रै छन् ।

गएको मङ्सिरको १० गते बाँकेको नरैनापुर गाउँपालिकामा शोक बिदा भयो, कारण थियो, पालिका अध्यक्ष ईश्तियाक अहमत शाहका दाजुको मृत्यु । यस्तै, पत्रकार डायलसन अधिकारीको मृत्युमा २०७६ सालको भदौ १ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

२०७९ सालको असार ५ गते रुपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहका देवरको दुर्घटनामा मृत्यु भयो, पालिकाभर बिदा भयो ।

यस्तै, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा २०७८ सालको साउन २२ गते बिदा दिएको थियो । यस्तै, गएको भदौ १८ गते बारपाक सुलीकोट गाउँपालिका–४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा पालिकाभरका ३९ वटा विद्यालयमा बिदा दिइयो । मृत्युमा बिदा दिएका उदाहरण अरु पनि छ्याप्छ्याप्ती भेटिन्छन् ।

बिदाको दौडमा अर्को उदाहरण हो तेह्रथुमको आठराई गाउँपालिकाको । २०७८ सालको फागुन ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन जन्मथलो आठराई जानुभयो । पालिकाले जन्मोत्सव र प्रधानमन्त्रीको स्वागत भन्दै बिदा दियो ।

यस्तै, २०७८ सालको कात्तिक ३० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वडाका स्वास्थ्य केन्द्र उद्घाटनमा जाँदा महोत्तरीको रामगोपालपुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

गएको पुस १९ गते प्रधानमन्त्री प्रचण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनमा जाँदा पनि रामेछापको सुनापति गाउँपालिकाले बिदाको घोषणा गरेको थियो, तर चौतर्फी विरोध पछि निर्णय फिर्ता भयो ।