काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन खोजेको भन्दै आफ्नै वडाध्यक्षहरूलाई कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीबाट चुनाव जितेका वडाध्यक्षहरूले स्थानीय सरकारको मर्म आत्मसाथ गर्न नसकेको आरोप लगाउँदै कटाक्ष गरेका हुन् ।

वडाध्यक्षहरू यस्तै गलत प्रवृत्ति राखिराखे काठमाडौंले मुहार नफेर्ने धारणा पनि उनले राखेका छन् ।

आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसात गर्न सकेको कसरी मान्ने रु,’ उनले प्रश्न गरेका छन्, ‘जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने रु यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौं ?’

कर्मचारी स्वयम्ले ’मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकार्दासमेत अब के गर्ने भनेर कार्यपालिकाबाट कारबाही अगाडि बढाउन वडाध्यक्षहरूले रोके भन्दै मेयर बालेनले आक्रोश पोखेका छन् ।

रोक्नुको अर्थ हो वडाअध्यक्षज्यूहहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्नेजस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला ।

चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ,’ उनले लेखेका छन्, ‘प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने ।

स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौं महानगरमा कमी छैन ।’ 

काठमाडौं महानगरको मंगलवारको कार्यपालिका बैठकमा पार्किङ र कर्मचारी निलम्बनबारे विवाद भएको थियो ।

महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्युरोड क्षेत्रको पार्किङ विषयमा मेयर बालेनमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको हो ।

यसैलाई लिएर मंगलवार साँझ मेयर बालेनले वडाध्यक्षमाथि कटाक्ष गरेका हुन् ।