सुखानी सहिद स्मृति प्रतिष्ठानको उद्यान व्यवस्थापन समितिद्वारा आयोजित झापाको अर्जुनधारा नगरपालिका क्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालयहरूबीच गरिएको हाजिरी जवाफ प्रतियोगिता शनिश्चरे माध्यमिक विद्यालयले जितेको छ ।

बिहीबार सुखानी सहिद स्मृति उद्यान सालबारीमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा अर्जुनधारा नगरपालिका क्षेत्रका सबै ९ वटा सामुदायिक माविहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा लक्ष्मी मावि दोस्रो र कालिस्थान मावि तेस्रो भए । अर्जुनधारा सँस्कृत आदर्श माविले सान्त्वना पुरस्कार पायो ।

झापा र इलामको सीमा क्षेत्र सुखानी क्षेत्रमा २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती निरंकुश शासकले पाँच जना सहिदहरूलाई बर्बर्तापूर्वक हत्या गरेको दिवसको सन्दर्भ पारेर सुखानी सहिद स्मृति प्रतिष्ठानको उद्यान व्यवस्थापन समितिले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका अध्यक्ष अर्जुन राईले सुखानी सहिद दिवसका अवसर पारेर रचनात्मक कार्यक्रमहरू गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा उद्यान व्यवस्थापन समितिका सदस्य कमल गुरागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।