बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज लाग्दैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदान उत्रिदैछन् । उनीहरु दुवैले उपाधि चुम्ने दावी गरेका छन् ।बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका थिए ।

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

कन्फ्रेसमा झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेलले दिए।

झापा गोल्ड कपको बिजेताले रु। १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु। ७ लाख पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही रु।२५ हजार बिधागत पुरस्कारको रुपमा पाउने छन् ।