झापा । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा झापाका एकसहित थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।

मृत्यु हुनेहरुमा झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो ।

योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म २ सय ७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ ।