सुरुङ्गा (झापा),  दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो ।

पूर्वको काँकडभिट्टादेखि पश्चिममा मावाखोलासम्मको एक सय ४४ किलोमिटर राजमार्ग क्षेत्रमा विभिन्न ठाउँमा हेल्प डेस्क र जाँच चौकी खडा गरी ट्राफिक सचेतना प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

अत्यधिक दुर्घटना हुने क्षेत्र ‘ब्याकस्पट’ क्षेत्रमा ट्राफिक प्रहरीले हेल्प डेस्क र जाँच चौकी खडा गरेको छ । तीव्र गतिमा सवारी नचलाउन आग्रह गर्दै प्रहरीले ठाउँठाउँमा सचेतना बोर्डसमेत राखेको छ । केही दिनयता झापामा सवारी दुर्घटना बढेसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडक सुरक्षा रणनीति अपनाएको हो ।

अहिले राजमार्गसँगै विद्यालय, सार्वजनिकस्थल, विभिन्न सङ्घसंस्थामा दिनहुँ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् ।

सडकको जीर्ण अवस्था, सवारी साधनको चाप उच्च, ट्राफिक जनशक्तिको अभाव र सवारी चालकको लापरबाहीका कारण झापामा सवारी दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरी सडक सुरक्षामा केन्द्रित भएको हो ।