बिर्तामोड। झापाको बिर्तामोड–२ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयहरूमध्ये १५औं स्थानमा पर्न सफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरुको सूचीमा झापाको एकमात्र मोहनमाया मावि पर्न सफल भएको हो।
मोहनमाया माविका तर्फबाट ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन्। त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना, २.८० देखि ३.२० जीपीएमा ३६ जना,२.४० देखि २.८० जीपीएमा १४ जना, २.०० देखि २.४० जीपीएमा ११ जना र १.६०0 जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिनु भयाे ।
राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त तथ्यांक अनुसार शिक्षा मन्त्रालयले २०७९ को एसईई परीक्षामा कम्तीमा सयजना विद्यार्थी सहभागी भइ समग्र जीपीए ३.२ र सोभन्दा बढी हासिल गर्ने विद्यार्थीको प्रतिशत ३० वा सोभन्दा बढी भएका सामुदायिक विद्यालयहरुको विवरण सार्वजनिक गरेको थियो।
सो विवरण अनुसार मोहनमाया देशकै उत्कृष्ट १५ मा पर्न सफल भएको हो।
मोहनमायाले २०७९ को एसईई परीक्षामा ११६ जना विद्यार्थी सहभागी भएकोमा ३।२ जीपीएभन्दा बढी ल्याउने ५० जना रहेका छन्। जुन ४३.१० प्रतिशत हो।
यसअघि मोहनमाया मावि झापा जिल्लाकै उत्कृष्ट भएको थियो। एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी मोहनमायाका विद्यार्थीहरु उत्तीर्ण भएका थिए।
परीक्षा दिने सबै विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लामै मोहनमायाको पठनपाठन उत्कृष्ट रहेको छ। देशकै उत्कृष्ट विद्यालयहरुको सूची अर्थ मन्त्रालयबाट प्रकाशन भएको आर्थिक सर्वेक्षण २०८०र८१ मा समावेश गरिएको छ।














