झापा । झापामा रहेका विभिन्न संघ संस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको विपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाइ छ ।
सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाव दिए ।
उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकममध्ये केही रकम मौज्दात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाव दिए ।














