बिर्तामोड । साहित्य चौतारी, झापाले २११ औँ भानु जयन्तीको अवसर पारेर चार अग्रज श्रष्टालाई रथारोहणसहित नागरिक अभिनन्दन, सात श्रष्टालाई अभिनन्दन, राष्ट्रव्यापी कविता प्रतियोगिता, पुरस्कार ,सम्मान समर्पण गरी रजतवर्ष महोत्सव (पच्चिसौँ वार्षिकोत्सव) मनाएको छ ।
संस्थाका संस्थापक ,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली “कलाङ”को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी संस्थापक, संरक्षक तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले स्वागत गरेकी थिइन् भने कार्यक्रमका संयोजक तथा उपाध्यक्ष हिम्मत नेम्बाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रम अघि साहित्य चौतारी झापाबाट अभिनन्दित भइसकेका लोक सम्राट एलपी जोशी, नेपाली चलचित्रकी प्रथम संगीतकार शान्ति ठटाल, नेपाली पत्रकारिताका सिद्धहस्त व्यक्तित्व नकुल काजी र पूर्वका मोतिरामले परिचित भाषाविद् चूडामणि रेग्मी(तस्वीर) लाई वग्गीसहितको रथमा राखेर रथारोहण गराइएको थियो । पञ्चकन्यासहित प्रमुख अतिथि ,विशिष्ठ अतिथि , साहित्य चौतारीको टोली , छिमेकी राष्ट्र भारतका श्रष्टाहरुको टोली, आर्ट स्टुडियो महिला नौमती बाजा समूह, व्याण्ड बाजा समूह, नेवाः पासा मुना पुचः बिर्तामोडको धिमेबाजा समूहको बाजागाजा र झाँकीसहित निकालिएको रथारोहण र्यालीले २०५६ साल असार ३१ गते साहित्य चौतारी स्थापना भएको स्थल बिर्तामोडको मुक्तिचौकस्थित दुर्गामन्दिर परिसरमा दीप प्रज्जवलन गर्दै बिर्तामोड नगर परिक्रमा गरी कार्यक्रमस्थल इन्द्रेणी व्याङक्वेटमा प्रवेश गरेको थियो ।
कार्यक्रममा सहभागीले राष्ट्रगानसहित साहित्य चौतारीका संस्थापक,संरक्षक श्रेष्ठद्वयका जन्म÷कर्म पिता भीमबहादुर श्रेष्ठ, पञ्चकुमारी श्रेष्ठ, धनमाया विमली, जगन्नाथ विमली, आदिकवि भानुभक्त आचार्य, संस्थापक प्रमुख अतिथि राष्ट्रकवी माधव घिमिरे, स्वर सम्राट नारायण गोपाल कर्म गुरु जेबी आले सिर्जना गुरु मदनदिपबिम बस्नेत, तत्कालिन सचिव डिकमान विरही लगायतलाई एकमिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साहित्य चौतारीका तत्कालिन सचिव डीकमान विरहीको रचना तथा साहित्य चौतारीका संस्थापक,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको संगीत र स्वरमा रहेको साहित्य चौतारीको स्वागत गीत अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरुले प्रस्तुत गरी स्वागत गरिएको कार्यक्रमको उद्घाटन रजत वर्ष भएकाले २५ वटा दियो प्रज्जवलित गरी प्रमुख अतिथि हार्तम्छालीले गरेका थिए ।
कार्यक्रममा रथारोहण गरिएका लोकसम्राट एलपी जोशी, नेपाली चलचित्रकी प्रथम संगीतकार शान्ति ठटाल, नेपाली पत्रकारिताका सिद्धहस्त व्यक्तित्व नकुल काजी र पूर्वका मोतिरामले परिचित भाषाविद् चूडामणि रेग्मीलाई नागरिक अभिनन्दन पत्र प्रदान गरिएको थियो ।
उक्त नागरिक अभिनन्दनको वाचन क्रमशः संस्थाका सल्लहकारहरु हरिनारायण भट्टराई, भवानी क्षेत्री , प्राज्ञ पवन राजवंशी र महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए । उनीहरुमध्ये जोशी, ठटाल र काजीलाई माला, खादा, र नागरिक अभिनन्दन पत्र प्रमुख अतिथि हार्तम्छाली, साहित्य चौतारीका संस्थापक,संरक्षक श्रेष्ठद्वयलगायतले प्रदान गरेका थिए ।
त्यस्तै भाषाविद् चूडामणि रेग्मी अस्वस्थ रहेकाले कार्यक्रम पश्चात उनलाई निवासमै गएर प्रमुख अतिथि हार्तम्छाली, साहित्य चौतारीका संस्थापक,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले टोपी , माला, दोसल्लासहित नागरिक अभिनन्दन पत्र प्रदान गरेका थिए ।
रेग्मी निवासमा उपाध्यक्ष हिम्मत नेम्बाङ, शान्ता पौडेल, महासचिव भानुभक्त कुभिण्डेली, सह संरक्षक तथा सचिव गौरव श्रेष्ठ,सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्यहरू गोमा विमली , एनबी दाहाल, मनिषा भट्टराई, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला र सहसंरक्षक गर्व श्रेष्ठलगायत सहभागी थिए ।
त्यो समयमा नागरिक अभिनन्दन पत्र ग्रहण गर्दै भाषाविद् रेग्मीले खुशी व्यक्त गर्दै साहित्य चौतारीलाई स्वर्ण वर्ष मनाउन शुभकामना दिए ।
त्यस्तै कार्यक्रममा संगीत तथा नाट्यकला प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ गणेश रसिक, प्रा.डा. टंकप्रसाद न्यौपाने , प्रा.डा.गंगाप्रसाद अधिकारी, साहित्यकार कुन्ता शर्मा, चित्रकार अनुराधा थापा,मूर्तिकार बिक्रम श्री, र कवि मनु मञ्जिललाई अभिनन्दन गरिएको थियो ।
अभिनन्दनपत्रको वाचन क्रमशः सल्लाहकार संयोजक राजेन्द्र सङ्ग्रौला, सल्लाहकार कृष्णप्रसाद पौडेल, निवर्तमान अध्यक्ष हस्त परियार, सल्लाहकार सदस्यहरु अनिरुद्र ओली, शिरो सान्दाइ, पूर्व अध्यक्ष केशव आचार्य र सहसचिव जीवनजगदिश धितालले गरेका थिए ।
अभिनन्दन गरिएका मध्ये अस्वस्थ्य भएर संगीत तथा नाट्यकला प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ गणेश रसिक उपस्थित नभएकाले उनलाई निवासमै गएर अभिनन्दन पत्र हस्तान्तरण गरिने जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा साहित्य चौतारीले रजत वर्षको अवसरमा तयार पारेको रजत वर्ष विशेषाङ्कको प्रमुख अतिथि हार्तम्छालीले लोकापर्ण गरेका थिए । रजत वर्ष विशेषाङ्क बारे सल्लाहकार संयोजक तथा सम्पादक राजेन्द्र संग्रौलाले प्रष्ट पारेका थिए ।
कार्यक्रममा साहित्य चौतारीले रजतवर्षको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा सहभागी १५३ कविता मध्ये उत्कृष्ट १० मा पर्न सफल कविहरूले प्रतियोगितात्मक कविता वाचन गरेका थिए ।
कवि अजय बैरागी राई कटारी, उदयपुर, अमृता रसाइली भरतपुर, चितवन, उत्तम विचार भेटवाल लिखु ,नुवाकोट, ऋषिकेश बराल पोखरा, कास्की , डा. सीता सुवेदी पन्थी तम्घास,गुल्मी, डिलबहादुर महरा शिखर, डोटी, दीपिन सिजापति ठाँटीकाँध, दैलेख,मुक्तिनाथ पोखरेल इटहरी सुनसरी,सरु बस्नेत निजगढ ,बारा,कवि सुरेशचन्द्र घिमिरे दोर्दी, लमजुङ रहेकोमा घिमिरे र पन्थी उपस्थित भएनन् भने एक जनाको रचना अस्विकृत भएको थियो ।
ती मध्ये दीपिन सिजापति ठाँटीकाँध दैलेखले प्रथम भएर नगद २० हजार राशीको आदिकवि भानुभक्त आचार्य–राष्ट्रकवि माधव घिमिरे स्मृति साहित्य चौतारी पुरस्कार प्राप्त गरे भने डिलबहादुर महरा शिखर, डोटीले द्वितिय भएर नगद १५ हजार राशीको स्व. भीमबहादुर –पञ्चकुमारी श्रेष्ठ स्मृति साहित्य चौतारी पुरस्कार प्राप्त गरे ।
त्यस्तै ऋषिकेश बराल पोखरा, कास्कीले तृतीय भएर नगद १० हजार राशीको स्व.धनमाया– जगन्नाथ विमली स्मृति साहित्य चौतारी पुरस्कार प्राप्त गरे भने
अजय बैरागी राई कटारी, उदयपुरले सान्त्वना भएर नगद ५ हजार राशीको स्व. मदन दीपबिम बस्नेत स्मृति साहित्य चौतारी पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी कार्यक्रममा सहभागी अन्य कविहरूलाई प्रमाणपत्र र वस भाडा प्रदान गरिएको थियो ।
कविता प्रतियोगिताको निर्णायकहरुमा संस्थाका सल्लाहकार हरीनारायण भट्टराई, कवि विरही अधिकारी , प्राध्यापक जीवनाथ सुवेदी रहेका थिए ।
कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका सम्पादक तथा संस्थाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलालाई ५ हजार १ सय राशीको स्व.डिकमान विरही स्मृति साहित्य चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने हिकोला कलरल्यावका प्राविधिक विधान सुनुवारलाई स्व.जेवी आले साहित्य चौतारी फोटोग्राफी पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि हार्तम्छालीले साहित्य, संगीत र कलाको माध्यमबाट सामाजिक रूपान्तरण र जागरणको अभियानमा साहित्य चौतारीले श्रष्टा र सर्जकहरुलाई गोलबद्ध गरी संरक्षण र अवसर प्रदान गर्दै आएको बताउँदै जुन कार्य नेपाल सरकारले समेत गर्न नसकेको जनाए ।
उनले साहित्य चौतारी झापाको मात्र नभएर नेपालको एउटा पहिचान भएको बताउँदै यो सवैकालागी गौरवको विषय भएको जनाए ।
कार्यक्रममा नागरिक अभिनन्दित व्यक्तित्व लोकसम्राट एलपी जोशी, नेपाली चलचित्रकी प्रथम संगीतकार शान्ति ठटालले साहित्य चौतारी र संस्थापक संरक्षक श्रेष्ठको प्रशंसा गर्दै गीत गाएर दर्शक श्रोतालाई नचाएका थिए ।
त्यस्तै अभिनन्दितको तर्फबाट प्रा.डा. टंकप्रसाद न्यौपाने, कविहरु कुन्ता शर्मा, मनु मञ्जिलले साहित्य चौतारीका संस्थापक ,संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठले साहित्य चौतारीलाई एउटा एकेडेमी बनाएर साहित्य ,कला, संगीत , भाषा , संस्कृतिको उन्नयनका लागी सरकारले समेत गर्न नसकेको कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
कवि शर्माले पोथी वास्नु हुँदैन र मञ्जिलले जीवनको रंग शिर्षकको कविता वाचन गरेर दर्शक तथा श्रोताको वाहवाही पाएका थिए ।
त्यस्तै साहित्यकार कोशराज न्यौपाने, संस्थापक अध्यक्ष शिवशङ्कर थापा लगायतले पनि साहित्य चौतारीले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा छिमेकी राष्ट्र भारतका गोर्खा दुःख निवारण सम्मेलन,दार्जिलिङ, गोपाल योञ्जन स्मृति प्रतिष्ठान मिरिक, गोर्खा साँस्कृतिक संस्था खर्साङ,दार्जिलिङ, देवकोटा संघ शिलगढीका पदाधिकारीहरुले साहित्य चौतारीले नेपाली साहित्य ,कला, संगीत , भाषा , संस्कृतिको उन्नयनका लागी महत्वपूर्ण योगदान गरेको भन्दै साहित्य चौतारीका संस्थापक ,संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठ, पूर्व अध्यक्षहरु शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, हस्त परियार लगायतलाई उपहारसहित सम्मान गरेका थिए । सो कार्यक्रमको सहजीकरण साहित्य चौतारीका अन्तराष्ट्रिय संयोजक डीएल प्रधानले गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका सदस्य एनवी दाहाल नविनको गीति संग्रह मभित्रका गीतहरुको प्रमुख अतिथि हार्तम्छालीसहित अन्य अतिथिहरुले विमोचन गरेका थिए ।
कार्यक्रममा संस्थाकी सदस्य तथा कलाकार मनिषा भट्टराई, सप्तक सङ्गीतालय र मंगल कलाकेन्द्रका विद्यार्थी लगायतको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा संस्थापक ,संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीको रजत वर्ष मनाउन पाएकोमा खुशी व्यक्त गर्दै साहित्य चौतारीलाई यो अवस्थासम्म ल्याई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद दिए ।
श्रेष्ठले साहित्य, संगीत, भाषा, कला र संस्कृतिको क्षेत्रमा अविच्छिन्न सेवारत व्यक्तित्वलाई रथारोहण र अभिनन्दन गर्न पाउँदा संस्थाले गौरवको अनुभूति गरेको बताए ।
कार्यक्रममा छिमेकी राष्ट्र भारतका नेपालीभाषी साहित्य, संगीत र कलाका मूर्धन्य व्यक्तित्वहरूसहित नेपाली श्रष्टा र सर्जकको सहभागिता रहेको थियो ।
हिकोला कम्पनि, होटल हिकोला हेरिटेज लगायतले व्यवस्थापन गरेको कार्यक्रम संस्थाका सचिव तथा सहसंरक्षक गौरव श्रेष्ठले थालनी गरी महासचिव भानुभक्त कुभिण्डेली र सदस्य सुनिता तामाङले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।