बिर्तामोड । भरत भाबुक प्रसाई, बिर्तामोड नगरपालिकाले बिहीबार एकै समयमा ७ वटा सडक शिलान्यास गरेको छ ।
शहरी विकास मन्त्रालयको नमुना शहर निर्माण गर्ने योजना बमोजिमको १३ करोड लगानी अन्र्तगत भ्याट बाहेक ६ करोड ३० लाखको लागतमा सडक निर्माण सम्पन्न गर्न लागिएको हो ।
महिलाले नेतृत्व गरेका देशभरका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पुर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।बिर्तामोडमा महिला मेयर भएको हुनाले नमुना शहर निर्माणको बजेट प्राप्त भएको मेयर पवित्रा महतारा प्रसाईले बताउनु भयो ।
उहाँले स्थानिय तहको निगरानीमा गुणस्तरीय सडक निमार्ण गरिने बताउनु भयो । बिर्तामोडमा अन्य स्थानीय तहको भन्दा धेरै सडक भएकाले एकै पटक सबै आयोजना निर्माण गर्न नसकिएको साथै ड्रेन सहितका बाटाहरु निर्माण गर्नु पर्ने भएकाले लागत खर्च बड्ने बताउनु भयो ।
७ वटै आयोजनाको एकीकृत रुपमा ठेक्का दिइएको छ । शान्ति उदेश्य निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनिका सञ्चालक नयन बरालले समयमा र गुणस्तरीय काम गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो ।
दुई बर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने गरि सडक ठेक्का लागेको हो । समयमा बजेट उपलब्ध भए ६ महिनामा निर्माण सम्पन्न हुने उहाँको भनाइ छ ।
शहरी विकास कार्यालयका इन्जिनियर सुरेश चौधरीका अनुसार भ्याट बाहेक ६ करोड ३0 लाखको लागतमा निर्माणको लागि ठेक्का लागेको छ । १ हजार २०७ मिटर सडक कालोपत्रे र एउटा सामुदायिक भवन निर्माण हुनेछ ।














