दमक ,३ कार्तिक । झापाको कमल गाउँपालिका -५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।
पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ -०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ निजको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्यान जाने अन्दाजी ५० बर्षिय पुरुषको पहिचान खुल्न सकेको छैन् । मृतक मोरङ घर भएको बुझिएको छ ।
प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले सो साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।
प्रहरीले मृतकको कानुनी मुचुल्का उठाउने कार्य गरिरहेको साथैं घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
दुर्घटना पछि आक्रोसित समूहले बसका चालकले लार्पावाही गर्दा मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।