काठमाडौं । चितवनको एउटा क्लबमा दुई समूहबीच झगडा हुँदा चारजना घाइते भएका छन् । शनिबार (साउन ३०) बिहान करिब सवा १ बजे भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा झगडा तथा कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न भरतपुर–४ का ३२ वर्षीय हिमाल रसाइलीलाई पक्राउ गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उक्त क्लबका सञ्चालक भरतपुर–१७ का ३६ वर्षीय राकेश तामाङलाई पनि नियन्त्रणमा लिएको छ । उनलाई भने घटनाबारे सोधपुछका निम्ति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
“कुटपिटमा संलग्न एकजनालाई पक्राउ गरेका छौँ,” उनले भने, “क्लबका सञ्चालकलाई घटना के कस्तो भएको हो भन्ने सोधपुछका लागि मात्र नियन्त्रणमा लिएका हौँ ।”
घाइते हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री, चितवनको भरतपुर–१७ का २६ वर्षीय रोहन तामाङ, चितवनकै कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो सरपराज छन् ।
भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
“घाइतेको उपचार भइरहेको छ,” डीएसपी खनालले भने, “घाइते सामान्यदेखि मध्यम घाइतेसम्म छन् ।”
घटनाको कारण खुल्न बाँकी रहेको र कुटपिटमा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














